प्रदेश सरकारको खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको खर्चभार कटौती गर्ने बताउनु भएको छ । खर्चभार घटाउनकै लागि प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको उहाँले बताउनु भएको छ ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले भन्नु्भयो ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरुरी छ।’
सत्ता साझेदार दलको बैठक प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको उहाँले बताउनु भएको छ ।
प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको उल्लेख गर्दै प्रचण्डले यसले वित्तीय अनुशासन र सुशासन कायम गर्ने र प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्बोधन हुने दावी गर्नु भएको छ ।
प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधन स्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्रीले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने पनि जानकारी दिनु भएको छ ।