मन्त्रीहरुले गणतन्त्र र संघीयताविरुद्ध बोले स्पष्टीकरण सोध्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदका सदस्यले गणतन्त्र र संघीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा मन्त्रीहरुले नै संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै प्रश्न उठेपछि जवाफमा नैतिक र कानुनी रुपले नै मन्त्रीहरुले संघीयताविरोधी अभिव्यक्ति दिन नहुने प्रधानमन्त्री दाहालले बताएका हुन् ।
मन्त्रिमण्डलभन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दल र माननीय सदस्यलाई हुने तर मन्त्रिमण्डलभित्र बसेर संघीयताविरुद्ध लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले पनि कानुनी रुपले पनि नहुने भन्दै प्रधानमन्त्री दाहालले त्यस्तो पाइएमा स्पष्टीकरण सोध्ने चेतावनी दिएका हुन ।
संघीयताका विषयमा सैद्धान्तिक विमति आम रुपमा नदेखिए पनि कार्यान्वयनमा भएको ढिलाइका कारण जनतामा आशंका पैदा भएको प्रधानमन्त्री दाहालले बताएका छन् ।
सरकारमा सामेल राप्रपाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संघीयता आवश्यक नभएको बताउँदै आएको छ ।