गृहमन्त्री पुगेपछि आफन्तले जिम्मा लिए आत्मदाहा गरेका आचार्यको शव

काठमाडौँ । मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन् ।
सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पताल पुगेपछि आफन्तले शव जिम्मा लिएका हुन् । आचार्यको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको थियो । आचार्यले उठाएका मागबारे सरकारले सम्बोधन नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।
लगत्तै दिउँसो गृहमन्त्री लामिछाने आफैं पुगेर उनका माग छानविन गर्ने प्रतिवद्धता जनाएपछि परिवारले शव बुझेका हुन ।
अहिले शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आचार्यकी श्रीमती नानुकालगायतका परिवारलाई भेटेर सहानुभूति दिएका छन् ।
भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त गरे । उनले आफूहरु पनि यस्तै कुराहरुबाट वाक्क भएर राजनीतिमा आएको बताए ।
उनले भने ‘मैले भर्खरै मात्र सुरुवात गरेको छु । सुरुमै आशा जगाउन सकिनँ, त्यसका लागि मलाई क्षमा गर्नुहोला । तर, निर्धक्क हुनुस्, उहाँले उठाउनुभएका, हामीले छानबिन गर्नुपर्ने विषयमा हामी छानबिन गर्नेछौं ।’