कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । पुस २२ गते बस्ने भनिएको वैठक पटकपटक स्थगित हुँदै आएको छ ।
बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’
कांग्रेसको डा। शेखर कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीले लगाएको निर्णय गलत भएको ठहर गरेको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत राखेका थिए । तर, तत्काल पार्टीले हृवीप लगाएपछि उनीहरू पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन बाध्य भएको जनाएका छन् ।
संस्थापनइतर समूहको बैठकमा देउवालाई पहिले आफ्नै हातमा भएको सत्ता जोगाउन नसक्ने, अहिले हातबाट फुस्किसकेपछि फेरि प्रतिपक्षको धर्म पनि निभाउन नसक्ने आरोप नेताहरूले लगाएका छन् ।