कृषि ज्ञान केन्द्र गुल्मीले उन्नत तरकारीका विरूवा वितरण सुरु
कृषि ज्ञान केन्द्र गुल्मीले एक हजार महिला कृषकहरुलाई तरकारीका विरूवा वितरण गर्ने भएको छ । जिल्लाका एक हजार महिला कृषकहरूलाई उन्नत जातका बीउ वितरण गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । अहिले ज्ञान केन्द्रद्वारा स्थानीय तहमा खटाइएका कृषि प्राविधिकहरूद्वारा बीउ वितरण गर्न सुरू गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
ज्ञान केन्द्रको महिला लक्ष्यित उन्नत तरकारी बीउ कीट वितरण कार्यक्रम अन्तर्गत बीउ वितरण सुरू गरिएको हो । सोही कार्यक्रम अन्तर्गत बिहिवार इस्मा गाउँपालिका–६ मा रहेको कृषि सेवा केन्द्र बुल्मद्वारा महिला कृषकहरूलाई उन्नत जातका बीउका कीट वितरण गर्न सुरु गरिएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख भण्डारीले आफ्नै करेसाबारीमा उत्पादन भएको हरियो तरकारीको प्रयोग गर्नुपर्छ भन्ने सचेतना गराउँदै तरकारी खेतितर्फ उत्प्रेरित गराउने उद्देश्यले उन्न्त जातका बीउ वितरण गर्न सुरु गरिएको बताउनुभयो । दीर्गकालीन रूपमा परनिर्भरतालाई हटाएर आत्मनिर्भर बनाउने उद्देश्यले तरकारीका बीउ वितरण गरिएको हो । कृषि ज्ञान केन्द्रले कृषकहरूको खेतबारीमा आउने समस्या समाधान र परामर्शका लागि प्राविधिक समेत खटाएको छ ।
कृषि प्राविधिकहरूले कृषकहरूको घरमा गएर बीउ रोपण गर्ने तरिका समेत सिकाउनेछन् । एक घर एक घर करेसाबारी अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यका साथल बीउपल वितरण गरिएको हो । स्थानीय मायाकुमारी कुमालले आफुहरुलाई प्राप्त बीउको सही सदुपयोग गर्ने बताउनुभयो ।
त्यस वडाका वडाअध्यक्ष ढालबहादुर कुँवरले चेतना र विकासले पछाडि रहेका विपन्न समुदायका महिलाहरुलाई प्राथमिकतामा राखेर बीउ–वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अहिले पनि तरकारीका लागि परनिर्भर बन्नुपर्ने अवस्था भएको भन्दै परिवारका लागि आवश्यक पर्ने तरकारी आफ्नै करेसाबारीमा उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ तरकारीका बीउ वितरण गरिएको बताउनुभयो ।