बेनी–जोमसोम सडक किन अलपत्र ?
काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा करिव दुई वर्ष ढिला भइसकेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले छिटो काम गराउन कुनै पहल नगरेको गुनासो बाहिर आएको छ । करिडोर अन्तर्गतक बेनी–जोमसोम–कोरोला सडक आयोजनाले २०७६ को मंसिर महिना भित्रै निर्माण सम्पन्न गर्ने गरी बेनी–जोमसोम ७६ कि.मी. सडकलाई ४ प्याकेज बनाएर ठेक्का लगाएको थियो । तर सडक विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने कार्य ठेक्का अवधि पुरा भएको दुई वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।
उत्तरको कोरोला नाका चीन र दक्षिणको त्रिवेणी हुँदै भारत जोड्ने अन्तरदेशीय रणनीतिक सडक मानिन्छ । यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरू समेत मारमा पर्दै आएका छन्् । साथै दुई देशीय व्यापारमा पनि समस्या देखिन थालेको बताइएको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति पर्याप्त मात्रामा परिचालन गरेको छैन । समयमै काम सम्पन्न नगर्दा यो सडक खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको गुनासाहरु बाहिर आउन थालेका छन्् । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति अझ नगन्य रहेको सडक विभागस्रोतले जानकारी दिएको छ ।
विभागले उक्त सडकको कालोपत्रेको काम आगामी असार मसान्तसम्मको समय सीमा तोकेको बताइएको छ । तर उक्त सयम सिमा भित्र काम पुरा हुने कुनै छाँटकाँट देखिदैन । म्याग्दीको गलेश्वरदेखि–नारच्याङ पुलसम्म २० किलोमिटर सडक ठेक्का लिएको शर्मा युनाइटेड जेभी कम्पनी र नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकु खोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखी निर्माण कम्पनीले सडक निर्माणमा ढिला सुस्ती गरिरहेको समाचारस्रोत बताउँछ ।
आयोजनास्रोतका अनुसार २०७४ जेठमा ६३ करोड ५२ लाख रूपैयाँमा २०७६ मंसिरमा काम सम्पन्न गर्ने गरी उक्त सडक खण्डको ठेक्का सम्झौता गरिको थियो तर निर्माण कम्पनीले पटक–पटक म्याद थपे गरे पनि फिल्डमा भने उल्लेखीय रुपमा काम गर्न सकेको छैन । जति प्रगति हुनु पर्ने नभए पनि आयोजना प्रमुखहरूले अग्रिम कमिशन चम्काउँदै पटक– पटक म्याद थप्दै गएको समाचार छ ।
२०७९ दशैं यता यो सडकको काम खासै अगाडि बढन सकेको छैन । अत्याधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पूरै ठप्प छ । आयोजनाको शुरु विन्दु गलेश्वरदेखि मुस्ताङको सीमावर्ती घाँसासम्मको ४० किलोमिटरको पहिलो र दोस्रो प्याकेज सडकको काम पनि ठप्प प्रायः रहेको छ । आयोजनाले पटक–पटक निर्देशन दिंदा पनि निमार्ण व्यवसायीले ८–१० जना मजदुर खटाए रिटेनिङ वाल लगाउने र सामान्य काम गराउने बाहेक अरू कुनै काम अगाडि बढन नसकेको समाचारस्रोतले बताएको छ ।
बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्डअन्तर्गत बेनी–जोमसोम ७६ किलोमिटर मध्ये मुस्ताङतर्फको ३८ किलोमिटर क्षेत्रमा ०७९ कात्तिक यता अधिक चिसोको कारणले काम रोकिएको छ । तर चिसोमा पनि कालोपत्रे गर्ने बाहेक अन्य काम गर्न भने समस्या नपर्ने बताइन्छ । म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा पनि अति सुस्त गतिमा काम भइरहेको छ । निमार्ण कम्पनीले काम हुँदैछ भन्ने देखाउनका लागि मात्र ८–१० जना कामदार लगाएर झारा टार्ने काम गर्दै आएको बताइएको छ ।
कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले पनि ठेकेदारलाई कडिकडाउ गरि काममा लगाउन नसकेको समाचार छ । दशैं मनाउन गएका मजदुर ०७९ मंसिर ४ गतेको संघीय र प्रदेश सभाको निर्वाचनको कारण नफर्किदा काम रोकिएको गुनासो ठेकेदार कम्पनीका प्रतिनिधिले गर्दै आएका छन् । अझ, मंसिर, पुस र माघ महिनामा भने अत्यधिक चिसो बढदा कामदार नफर्किएको निर्माण व्यवसायीले बताउने गरेका छन । बेनी–घाँसा सडक खण्डमा प्राविधिक कठिनाइ पनि छ ।
फिल्डमा देखिने गरी काम नभएपछि आयोजना प्रमुख प्रजापतिले बेनी–घाँसा खण्डमा सडक विस्तार गर्न टेक्निकल समस्या पनि छ भनेर ठेकेदार कम्पनीलाई काम ढिला गर्न छुट दिएको बताइएको छ । गत वर्ष थपिएको पर्वतको मालढुङ्गा–बेनी १३ कि.मी. र बेनी–गलेश्वर ३ कि.मी. सडको सुस्त गतिमै काम भइरहेको छ । नाली बनाउने विषयमा स्थानीयले अवरोध गरेपछि काम प्रभावित हुँदा ठेक्का लगाएको दुई वर्षमा ३५ प्रतिशत पनि काम सम्पन्न भएको छैन ।
समाचारस्रोतले दिएको जानकारी अनुसार मालढुङ्गा–बेनी ३५ प्रतिशत, बेनी–गलेश्वर खण्ड ठेक्का प्रकृयामा रहेको, गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत मात्र काम भएको छ । तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकु खोला तेस्रो प्याकेजमा भने शत प्रतिशत काम भएको छ । कैकु–जोमसोम सडकमा भने ६८ प्रतिशत काम मात्र भएको छ । मुस्ताङतर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङ वाल, नालीको काम केही बाहेक सम्पन्न भएको छ । गर्मी मौसम शुरु भएपछि कालोपत्रे गर्न योग्य हुने र तापक्रम पुग्ने बित्तिकै ठेकदारले काम अगाडि बढाउने तयारी भइरहेको आयोजनास्रोतको दाबी रहेको छ ।
यसैगरी, म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठूल–ठूला बाढी पहिरोले सडकमा धेरै क्षति गरेकोले व्यवसायीले प्रगति देखिने गरी काम गर्न सकेका छैनन् । पहिरो गएको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ । हिउँद याममा व्यवसायीले कामदार परिचालित गर्न सके म्याग्दी खण्डको यो वर्ष धेरै भाग कालोपत्रे हुनसक्ने सम्भावना रहेको छ । बेनी–जोमसोम सडक खण्डमा भएको कामको ढिलाइले राउण्ड अन्नपूर्ण भ्रमणमा आउने विदेशी, स्वदेशी पर्यटक र यात्रुले निकै ठुलो सास्ती खेप्नु परेको छ ।