कृषि ज्ञान केन्द्र गुल्मीले घरआँगनमा पुगी कृषकका समस्या सुन्दै
कृषि ज्ञान केन्द्र गुल्मीले कृषकको घरबगैचाँमा पुगि कृषकहरूका समस्या संकलन तथा आवश्यक ज्ञान सीप दिन थालेको छ । कृषकहरूको घरआँगनमै पुगी कृषकको समस्या संकलन र आवश्यक सुझाव प्रदान गरी सुन्तला उत्पादन वृद्धि गर्न कृषि ज्ञान केन्द्र गुल्मीले कृषकसँग विज्ञ कार्यक्रम सुरू गरेको हो । कृषकसँग विज्ञ कार्यक्रमले सुन्तला उत्पादक कृषकहरू पनि उत्साहित भएका छन् । धुर्काट गाउँपालिका–३ पिपलधाराका स्थानीय कृषक नरमान खड्काले यस कार्यक्रमको माध्यमद्वारा सुन्तला खेति गर्दा आवश्यक पर्ने ज्ञान सीप प्राप्त गर्न पाउँदा खुसि लागेको बताउनुभयो ।
प्रत्यक्ष विज्ञसँग आफ्ना गुनासा र सुन्तला खेति गर्दा आएका समस्या राख्न पाउँदा खुसि लागेको खड्काले उल्लेख गर्नुभयो । यो कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । वडामा रहेका कृषि प्राविधिकहरूले समय– समयमा कृषकको सुन्तला बगैंचामा पुगि अनुगमन गरिदिन समेत सुझाव दिनुभयो । सुन्तलाजात बगैंचा सुदृढीकरण तथा कृषकका समस्या पहिचान गर्ने उदेश्यका साथ कृषकसँग विज्ञ कार्यक्रम सुरू गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख एवम् कृषि विज्ञ नवराज भण्डारीले बताउनुभयो । जसअन्र्तगत धुर्कोट गाउँपालिकाको नयाँगाउँ र पिपलधारामा गरिसकिएको छ ।
जिल्लाका सुन्तला पकेट क्षेत्र निर्धारण गरिएका स्थानमा पुगि कृषकसँग कृषि विज्ञ कार्यक्रम सञ्चालन गरिने भण्डारीले बताउनुभयो । जसमा छत्रकोट गाउँपालिकाको लुम्छा र हर्दिनेटा, गुल्मीदरबार गाउँपालिकाको गौडाकाट र बीरबास, कालीगण्डकीको लम्सराङ, मुसिकोट नगरपालिकाकाको अर्लाङकोट, रेसुंगा नगरपालिकाको भाडगाउँमा कृषकसँग विज्ञ कार्यक्रम गरिने भण्डारीले जानकारी दिनुभयो ।
माघ महिनासम्म बगैंचा व्यवस्थापन गरिसक्नुपर्ने बताउँदै उहाँले सुन्तला बगैंचामा मलजलको व्यवस्थापन लगायतका राम्रो अभ्यासले मात्रै सुन्तलाको उत्पादन र गुणस्तर वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । सोही अवसरमा सुन्तला उत्पादक कृषकहरूलाई निःशुल्क रूपमा निलो तुथो, चुना, सुक्ष्मतत्व, जैविक मल, बाल्टी, ब्रस वितरण गरिएको छ । यसरी प्राप्त गरेको मल कृषकहरूले आफ्नो सुन्तला बंगैचामा परिक्षणको रूपमा प्रयोग गर्नेछन् ।
परिक्षण गरि सुन्तलाको उत्पादनमा आएको रिपोर्टका आधारमा आगामी वर्षको सुन्तला, कागतीका कार्यक्रम कृषकहरू समक्ष पु–याईनेछ । यस कार्यक्रममा करिब एक हजार कृषक सहभागी हुने भण्डारीले जानकारी दिनुभयो । पिपलधारामा गरिएको कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले कृषकका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधैं तत्पर रहेको बताउनुभयो । वडाअध्यक्ष बाबुराम खड्काले वडा र पालिकासँगको समन्वयमा थप कृषकका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । सोही अवसरमा कृषि विज्ञ नवराज भण्डारी, शिव बन्जाडे र प्रकाश मरासिनीले कृषकको समस्या समाधानका उपायका विषयमा जानकारी गराउनुभएको थियोे । कार्यक्रमको सहजीकरण कृषि अधिकृत हरिप्रसाद आचार्यले गर्नुभएको थियोे ।