रानी जमराको ९५ प्रतिशत निर्माण कार्य पुरा


कैलाली । रानी जमरा कुलरियाको सिंचाइ आयोजना प्रणाली संचालनको अन्तिम तयारीमा पुगेको छ । मुख्य र सहायक नहर निर्माणको काम ९५ प्रतिशत सकिएको उर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय निकट स्रोतले बताएको छ । यस आयोजनामा एक मुख्य र तीन शाखा नहर रहेका छन्् । यो आयोजना सम्पन्न पश्चात ११ हजार हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुग्ने भएको बताइएको छ ।
एक सय वर्ष अघिको सपना
एक सय २० वर्ष पहिला देखि नै त्यहाँका स्थानीय बासिन्दाले यो सपना देखेका थिए । उनीहरुले विभिन्न उपायको खोजी गर्दै नदीको पानी खेतसम्म ल्याउने प्रयास गरेका थिए । तर, त्यो प्रयाप्त हुन सकेको थिएन । नहर बनेसँगै १ सय २० वर्ष पहिला देखेको स्थानीय नागरिकको सपना अव चाँडै नै पुरा हुने भएकोे छ । नहर संचालनमा आएपछि कृषि उत्पादनमा टेवा पुग्ने लक्ष्य आयोजनाले राखेको छ ।
कर्णाली नदीको पानीलाई उपयोग गरी सिंचाइ प्रणालीमा कमाण्ड एरियाको दक्षिणी भागमा ल्याइने भएको छ । रानी सिंचाइ, मध्य भागमा जमरा सिंचाइ र उत्तरी भागमा सिंचाइ गर्न कुलरीया सिंचाइ प्रणाली रहेको छ । यी प्रणालीहरुको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था (कुलो संस्था) रहेको छ । यी तिनै शाखा प्रणालीहरुको समन्वयको लागी कर्णाली कुलो (रानी जमरा कुलरीया) सिंचाइ जल उपभोक्ता संस्था मुल समितिको रुपमा रहेको बताइएको छ ।
नहर बचाउने चिन्ता
अहिले नहरमा पानी संचालन भएपनि वर्षातको समयमा नहरलाई कसरी बचाउने भन्ने चिन्ता बढेको छ । नहरको पश्चिम चिसापानीतर्फको तीन किलोमिटर क्षेत्रमा नदी गहिरिएको छ । नदीको अर्को पूर्व तर्फको भागमा बर्दिया राष्ट्रिय निकुन्ज रहेको छ ।
निकुन्ज क्षेत्रबाट गिट्टी बालुवा निकाल्न मिल्दैन । नहर क्षेत्रमा खुल्ला क्षेत्र भएको हुनाले त्यहाँबाट गिट्टी बालुवा निकाल्ने गर्दा नदी नहर तर्फ गहिरएको छ । जसले नहरमा थप क्षति हुने अनुमान गरिएको छ । पहिला नहर क्षेत्रमा २० प्रतिशत मात्र पानी बग्ने गरेकोमा अहिले मुल नदी नै नहरतर्फ भएर बग्ने गरेको छ ।
पहिला ८ सय मिटर चौडाइमा बग्ने गरेको नदी अहिले उत्खननका कारण १ सय ५० मिटरमा संकुचन भएको छ । नदी गहिरिदा धेरै टापुहरु बनेको आयोजनास्रोतले जानकारी दिएको छ । टापुका कारण झन् जोखिम बढेको बताइन्छ ।
मन्त्रालयका जिम्मेवा अधिकारीहरुले पनि यो विषयमा अनुगमन गरी निकुन्ज क्षेत्रबाट पनि गिट्टी, बालुवा झिक्न वा नदीलाई सम्याउनु पर्ने आवश्यकता महसुुस गरेको छन । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षा मन्त्रालय, नेपाल आर्मी, वन मन्त्रालय र ऊर्जा तथा सिंचाइ मन्त्रालयको संयुक्त बैठक बस्नुपर्ने आवश्यकता महसुस गरिएको बताइएको छ । साथै समस्या समाधानका लागि आवश्यक रुपमा पहल भइ रहेको मन्त्रालयस्रोतले रेसुङ्गा टुडेलाई जानकारी दिएको छ ।
नहरको क्षति रोक्न पहल
यदी नहरको क्षति रोक्न समयमा प्रयास र पहल नगर्ने हो भने वर्खाको समयमा नदीले नहरमा थप क्षति पुर्याउन सक्छ । त्यसका लागि आयोजनाले पहल गर्न मन्त्रालको नेतृत्वलाई अनुरोध गर्दै आएको बताइएको छ । मन्त्रालयले पनि नदीको सतह मिलाउने र एकतर्फ गहिरिएको नदीलाई समतल बनाउने प्रयासका लागि तयारी सम्वन्धित मन्त्रालयसँग समन्वय गरिरहेको बताएको छ । अर्को तर्फ नहरको सुरक्षाका लागि बोल्डर र बल्क राखेर नदी नियन्त्रणको प्रयास गर्ने तयारी भइ रहेको समाचारस्रोतले जानकारी दिएको छ ।
यस नहर क्षेत्र पर्ने कैलालीको लम्की क्षेत्रको डुडेघारी वनको प्लट नं. १ बाट १ सय ९ रुख कटान गरिएको थियो । यसैगरी, अमरावती सामुदायिक वनबाट २ सय २५ रुख काटिएको बताइएको छ । यो नहर निर्माणको ठेक्का मारुसिन सिताका जापानीज कम्पनी र लाक्पा शेर्पा कम्पनी जेभीले पाएको थियो ।