कर्तव्य ज्यान मुद्धामा गुल्मीका एक दम्पत्ति प्रक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पत्तिलाई कर्तव्य ज्यान मुद्धामा प्रक्राउ गरी सार्वजनिक गरेको छ । भारतको शेख अताहुसैइं वडा नम्बर– १८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या गरेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारीलाई प्रक्राउ गरि सार्वजनिक गरिएको हो ।

यहि माघ १९ गते रुरुक्षेत्र गाँउपालिका –२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भइ बग्ने कालीगण्डकी नदीको गुल्मी जिल्लाको नदीको किनारबाट उत्तानो अवस्थामा ढुङ्गामा अडिएको अवस्थामा भारतीय नागरिक शेखको शब फेला परेको थियो ।
उक्त घटना अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पत्तीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।
भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पत्तीले संचालन गरेको भुवन होटलमा बस्दै आएका थिए । मादक पदार्थ सेवन गरेको नसाको सुरमा भारतीय नागरिक शेखले आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलाले आफ्नै घरमा रहेको हथौडाले निजको टाउकोमा प्रहार गरी हत्या गरेको बयान दिएका प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।
भोलि (आइतबार) अधिकारी दम्पत्तीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मृतकको भेनाले मृत अवस्थामा फेला परेका शेख आलिनामको लाश उनले लगाएको कपडाको आधारमा सनाखत समेत गरेका छन् ।