गुप्तचरमा पीडितहरूको बढुवा !


काठमाडौं । राष्ट्रिय अनुसन्धान (गुप्तर) विभागमा दुई जना अनुसन्धान निर्देशकको पद रिक्त भएको छ । जितेन्द्र कार्कीको अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा भएसँगै र आम निर्वाचन लगत्तै ०७९ मंसिर १० अनुसन्धान अधिकृत प्रकाशराज पाण्डे अनिवार्य अवकाशमा गएकोले यी पद रिक्त भएको थियो । यसरी विभागमा अनुसन्धान निर्देशकको दुई पद रिक्त हुन पुगेको छ । रिक्त पदमा बढुवा हुन सह अनुसन्धान निर्देशकहरू इन्द्रबहादुर लामा, माधव तिमिल्सिना र किशोर श्रेष्ठ लागि परेको समाचार छ । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रका केही नेताहरू मार्फत् चलखेल बढाएको समाचारस्रोतले जानकारी दिएको छ ।
अर्काेतिर विभागमा हालै २२ जना अनुसन्धान अधिकृतहरूको प्रमुख अनुसन्धान अधिकृतमा बढुवा भएको छ । विगतको बढुवामा अन्यायमा परेकाहरूलाई छानीछानी मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले न्याय गरेको चर्चा विभाग भित्र चल्दै आएको छ । उनले निष्पक्ष रूपमा बढुवा गरेको र कसैलाई काखापाखा हुन नदिएको समाचारस्रोतले बताएको छ । विगतमा गणेश प्रसाद अधिकारी चिफ र लक्ष्मण गुरूङ प्रशासन महाशाखाको अनुसन्धान निर्देशक हुँदा उनीहरूले लाखाँै थैली बुझ्दै योग्य, सक्षम, अनुभवी, कार्यसम्पादन मुल्यांकनमा अगाडि रहेकाहरूलाई पन्छाएको आरोप खेप्नु परेको थियो । कार्य दक्षता र क्षमता नभएकालाई अनुसन्धान अधिकृत, प्रमुख अनुसन्धान अधिकृत, उपअनुसन्धान निर्देशक, सहअनुसन्धान निर्देशकमा बढुवा गरेको भन्दै विभाग भित्र असन्तुष्टि चुलिएको थियो ।
विभागमा लामो समय अनुसन्धान अधिकृत भएर पनि राजनीतिक पहुँच, सोर्सफोर्स लगाउन र थैली बुझाउन नसक्दा सिनियर हुँदाहुँदै पनि कतिपयको बढुवा हुन सकेको थिएन । तर यसपटक ०४८ सालमा भर्ना भएका १८ लटका विष्णुहरि पण्डित, १९ का केशवराज सुवेदी, २० का द्रोणबहादुर बुढाथोकी, २१ का नित्यानन्द ढुंगाना, २५ का रूद्रबहादुर गुर्मछान मगर, तिलकबहादुर केसी, नारायण शर्मा, २८ का धर्मकान्त चौधरी, ३९ का अशोक पौडेल, लोकराज जोशी, चिरन कोइराला, झनकराज शर्माको बढुवा भएको छ । ४३ का मेघराज कडेँल, ४४ का अनुसन्धान अधिकृतहरू दीपक केसी, सविना राई, पुजा वेल्वासे, समिता गिरी, मदन पौडेल, गोविन्द प्रसाद पाण्डेय, सरोज कुमार तिवारी, सत्यनारायण रावल र कुशल थापा मगरको बढुवा भएको बताइन्छ ।
विभागमा सुचक, अनुसन्धान सहायक, वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृतमा माघ महिना भित्रै बढुवा गर्न तयारी भइरहेको बुझिएको छ । मुख्य अनुसन्धान निर्देशक थापा कार्यसम्पादन मुल्यांकनमा अगाडि रहेका, सिनियर, कुनै कारवाहीमा नपरेकालाई बढुवा दिने पक्षमा रहेका छन् । थापाले विभागमा कार्यसम्पादनमा सुधार सुरू गरेका छन् । साथै सरूवा–बढुवामा पनि निष्पक्ष व्यवहार गर्न थालेकोले भन्दै विभागमा सुधारको संकेत देखिएको बताइएको छ ।
अघिल्लो देउवा सरकारका पालामा प्रधानमन्त्रीलाई भेटन नपाइ यदु खरेल अवकासमा गएका थिए । अहिले थापाले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलाबखत भेट पाउन गरेको बताइएको छ । विभागलाई स्रोत, साधन, तालिम र जनशक्ति जुटाउन समेत प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको सन्देश प्रवाह भएकाले विभागमा उत्साह छाएको स्रोतले बताएको छ ।
यसैवीच, हेटौडास्थित इन्टेलिजेन्स शिक्षालयमा ३८ जना सुचकले एक महिने तालिम सम्पन्न गरेका छन् । सो तालिमको समापन समारोहमा ०७९ माघ १६ गते मुख्य अनुसन्धान निर्देशक थापा उपस्थित भएर निर्देशन दिदै प्रमाणपत्र वितरण गरेका थिए । सो तालिममा सहभागी भएका नेपाली कांग्रेसका नेता एनपी साउदका भतिजा भिमदत्त नगरपालिका –२ कञ्चनपुर घर भई विभागमा कार्यरत ३८ वर्षीय सुचक विवेक साउदको बिहान ७ बजे दौडका क्रममा हटअट्याक भएर लडेपछि पुस ३ गते हेटौंडा अस्पतालमा एक घन्टापछि निधन भएको थियो ।