चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन बैशाख १० मा


काठमाडौं । नर्वाचन आयोगको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।
चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वाेच्च अदालतबाट २०७९ माघ १३ गतेको आदेशबाट नेपालको संविधानको धारा ८९ को (ख) बमोजिम रिक्त भएको थियो ।
नेपालको संविधानको धारा ४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेको छ । साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार यही फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते रहेको छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय चैत २१ गते रहेको छ । त्यस्तै, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गतेको लागि तोकिएको छ । उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते रहेको आयोगका सहससचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल २०७९ माघ २९ गते जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।