रेसुङ्गा विमानस्थलमा प्रुभिङ उडान हुँदै
गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनटर जहाजले प्रुभिङ उडान गर्ने भएको छ । रेसुङ्गा विमानस्थलबाट नियमित उडानका लागि रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबीच सम्झौता भएको छ । प्रति÷उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी नेपाल वायुसेवा निगमसँग सम्झौता गरिएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभयो । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्न लागेको हो ।
त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको पन्थीले बताउनुभयो । निगमका अनुसार गुल्मी आउँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रति÷उडान–अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुङ्गा नगरपालिकाले गरेको मेयर पन्थीले बताउनुभयो ।
नियमित उडान भएमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा गरिएको छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । तारा एयरलाइन्सले यस विमानस्थलमा पुस २४ मा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यस विमानस्थलमा उडानको तयारी गरेको थियो । तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको छ ।
रेसुङ्गा नगरपालिका र निगमको सम्झौतामा साक्षी बस्नुभएका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यस विमानस्थलमा निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीमा यसअघि इलाम र बागलुङमा अपनाइएको अवधारणामा उडान हुन लागेको हो । ती दुई विमानस्थलले भने नियमित यात्रु पाउन भने सकेनन् । सोहीकारण सम्झौता सकिएपछि त्यहा उडान समेत हुन सकेको छैन ।
रेसुङ्गा विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको थियो । यस विमानस्थलको ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग रहेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्ता जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग रहेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दूरीमा अवस्थित यो विमानस्थल यस भेगकै पहिलो विमानस्थल हो ।
संघीय राजधानी काठमाडौंबाट हवाई यातयात मार्फत करिब १ घण्टाको दुरीमा रेसुङ्गा विमानस्थलमा आउन सकिन्छ । मेयर पन्थीले रेसुङ्गा विमानस्थलमा नियमित उडान गर्ने गुल्मेली जनताको लामो समय देखिको सपना पुरा गर्ने गरी नेपाल वायु सेवा निगमसँग सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा १ दिन उडान गर्दै पछि हप्तामा ३ दिन सम्म पु¥याउने योजना रहेको छ । मेयर पन्थीले जिल्लालाई हवाई यातयातसँग जोड्न सके गुल्मीको समग्र विकासको लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । यस विमानस्थलबाट छिमेकी जिल्ला, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पा लगायत जिल्लाका यात्रुले समेत सेवा पाउनेछन् ।