म्याद गुज्रेका औषधी वितरणप्रति रेसुंगाको ध्यानाकर्षण
गुल्मी, फागुन २३ गते । चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गुल्मीको तम्घासमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधी वितरण भएको पाइएपछि रेसुंगा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ । २० फागुनमा रेसुंगा नगरपालिकाको आयोजना र चौराह हस्पिटल प्रालिको प्राविधिक सहयोगमा महेन्द्र माध्यमिक विद्यालयमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरबाट ६८९ जनाले सेवा लिएका थिए ।
निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजोय १० एम्जीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । सोही घटनालाई लिएर रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले औषधी वितरणमा चौराह हस्पिटलको लापरबाही भएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
“स्थानीय नागरिकहरुले आफ्नै ठाउँबाट गुणस्तरीय बिशेषज्ञ सेवा पाउलान् भन्ने उदेश्यले शिविर सञ्चालन गरेका हौं ।” नगरप्रमुख पन्थीले भन्नुभयो,–“पवित्र सोंचले सञ्चालन गरिएको शिविरमा म्याद गुज्रिएका औषधी वितरण भएको घटनाप्रति नगरपालिकाको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।” म्याद गुज्रिएको औषधी वितरण गरेकोप्रति चौराह हस्पिटल प्रालिलाई आफुहरुले स्पष्टिकरण सोधेको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभयो ।
स्वास्थ जस्तो संवेदनशिल क्षेत्रमा नागरिकप्रति खेलवाड गर्ने सम्बन्धित औषधी कम्पनीलाई जवाफदेही बनाएको नगर प्रमुख पन्थीले बताउनुभयो । नगरप्रमुख पन्थीले घटना थाहा पाएलगत्तै वितरण गरिएका बिरामीबाट म्याद गुज्रिएका औषधी फिर्ता लिएको उहाँले बताउनुभयो । नगरपालिकाले सोधेको स्पष्टीकरणमा चौराह हस्पिटले प्राविधिक कमजोरी देखाएको छ । प्राविधिक कमजोरीका कारण उपचारमा आउने केही बिरामीहरुलाई उक्त औषधी वितरण भएको अस्पतालले स्वीकार गरेको छ ।
त्यस अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ,–“अस्पतालमा प्याकिङ्कको क्रममा कर्मचारीले शिविरमा वितरण गरिने औषधीहरुको बाहिर बट्टा हेरेका थिए । प्रायजसो औषधीको बाहिरी बट्टामा म्याद गुज्रने मिति लेखिने गर्छ । तर यो औषधीको भने भित्रि औषधीको पातामा लेखिएको हुँदा त्यो कमजोरी भई विरामीलाई औषधी वितरण भएको कुरा जानकारी गराउँछौं ।” हस्पिटलले आगामी दिनमा यस्ता घटना दोहोरीन नदिने प्रतिवद्धता व्यक्त गरेको छ ।
नगरप्रमुख पन्थीले अस्पतालको जवाफबाट भने आफू सन्तुष्ट नभएको बताउनुभयो । “चौराह हस्पिटलको कमजोरी भएको छ । घटना थाहापाए लगत्तै फिल्डमा गएर म्याद गुज्रिएका औषधी फिर्ता लिएका छौं । यो घटना क्षमायोग्य छैन् ।” नगरप्रमुख पन्थीले भन्नुभयो,–“हस्पीटल र औषधी कम्पनीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।” म्याद गुज्रिएका १२ पाता औषधी फिर्ता गरिएको छ । उक्त औषधि सेवाग्राहीले सेवन नगरेको बताउँदै म्याद गुज्रिएको औषधी वितरण गर्ने हस्पीटलप्रति कार्वाहीका लागि अगाडि बढेको बताउनुभयो । नियमनकारी निकायले पनि यसलाई गम्भिर रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।