स्ववियु निर्वाचन ः रेसुङ्गा क्याम्पसमा तयारी तिव्र
गुल्मी, फागुन २५ । आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले पनि तयारीलाई तिव्र बनाइरहेको छ । आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । १५ सदस्यीय स्ववियु निर्वाचन हुन लागेको हो । जसमा प्रत्यक्ष ८ जना र समानुपातिकबाट ७ जना पदाधिकारी निर्वाचित गरिन्छ ।
प्रत्यक्षतर्फ स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्यहरु निर्वाचित हुन्छन् । भने समानुपातिकबाट उपाध्यक्ष सहायक सचिव सहित ७ सदस्य निर्वाचित गरिन्छ । यस क्याम्पसमा स्ववियु निर्वाचनलाई स्वस्थ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गर्न पब्लिक क्याम्पस प्रध्यापक संघका सभापति यमबहादुर थापा क्षेत्रिको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति तयार गरिएको छ ।
जसको सदस्यहरुमा प्रध्यापकहरु गोपालप्रसाद पाण्डे, बुद्धराज न्यौपाने, सूर्यप्रसाद उपाध्याय र लिलाधर आचार्य हुनुहुन्छ । स्ववियु निर्वाचनका लागि यस क्याम्पसमा ३ विद्यार्थी संगठन दर्ता भएका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन दर्ता गराएका छन् ।
स्ववियु निर्वाचनलाई लिएर क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरुसँग निरन्तर छलफल भइरहेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो । रेसुङ्गा बहुमुखी क्याम्पसले आउँदो चैत ५ गते स्ववियु निर्वाचनका लागि फागुन १९ गते विद्यार्थी संगठन दर्ता गरेको थियो । क्याम्पस प्रमुख खत्रीका अनुसार फागुन २७ गते बिहान आठ बजे मतदाता सूची प्रकाशन, सोही दिन अपरान्ह चार बजे मतदाता सूचीउपर दाबी विरोध र साँझ पाँच बजे छानबिन तथा अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
फागुन २८ गते विहान आठ बजेदेखि एक बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारहरूको मनोनयनपत्र दर्ता, सोही दिन दिउँसो दुई बजे उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, चार बजे नामावलीमाथि दाबी विरोध र साँझ पाँच बजे उम्मेदवारहरुको दोस्रो नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, फागुन २९ गते बिहान दश बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय उपलब्ध गराइनेछ । बिहान १० ः ३० बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका रहेको क्याम्पस प्रमुख खत्रीले जानकारी दिनुभयो । चैत्र ५ गते विहान आठ बजेदेखि मतदान सुरु गरिनेछ ।
रेसुङ्गा बहुमुखी क्याम्पस सहित यस जिल्लामा एघार वटा क्याम्पसमा छन् । यहाँ एक्ला एक्लै वा गठबन्धन गरेर स्ववियु निर्वाचन जित हाँसिल गर्न विद्यार्थी संघ–संगठनका नेताहरु आन्तरिक तयारीदेखि मत जोड घटाउमा सक्रिय भएका छन् ।