आफ्ना माग तत्कालै पुरा गर्न नेपाल विद्यालय कर्मचारी परिषद्को ध्यानाकर्षण
नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले विभिन्न माग राखी ध्यानाकर्षणपत्र बुझाएको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरुको साझा संगठन नेपाल विद्यालय कर्मचारी परिषद्ले तत्कालै समाधानको माग राखी शिक्षा विकास तथा समन्वय इकाई गुल्मीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारी लेखापालहरुका लागि मासिक रु.३६ हजार ७३०, विद्यालय कर्मचारी कार्यालय सहयोगीहरुका लागि २६ हजार ९०२ रुपियाँ मासिक तलब उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
यस्तै सम्पूर्ण सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी दरबन्दी स्थापनाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत नेपाल सरकार समक्ष माग गरिदिन आग्रह गरेको छ । साथै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुका लागि अवकास हुन बाध्य पारिएका विद्यालयहरुको कार्यलाई संघीय शिक्षा ऐन जारी नहुँदा सम्म रोक लगाई समाधानका लागि पहल गर्न माग राख्दै विद्यालय कर्मचारीहरुलाई एकमुष्ट अनुदान उपलब्ध गराइदिने व्यवस्था मिलाइदिन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समितिका अध्यक्ष श्यामलाल कुँवर, सचिव बालकृष्ण कंडेल, परिषद्का लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष शालिकराम पन्थी, परिषद् गुल्मीकी अर्थसचिव शारदा भलामी, परिषद् रेसुंगा नगरपालिकाका पूर्व अध्यक्ष अनुज पन्थीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका कार्यालय प्रमुख लोकनाथ मरासिनीलाई हस्तान्तरण गरिएको हो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै इकाई प्रमुख मरासिनीले मागहरु जायज रहेको बताउँदै सम्बन्धित स्थानमा जानकारी गराउने बताउनुभयो ।
आफ्ना मागहरु सम्बोधन नभए अर्को चरणका थप आन्दोलनका कार्यक्रमहरु गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्का जिल्ला अध्यक्ष श्यामलाल कुँवरले बताउनुभयो । यस जिल्लामा सामुदायिक तथा सरकारी विद्यालयमा ११९ जना लेखापाल तथा ५२२ जना कार्यालय सहयोगी रहेका छन् । देशभर ३६ हजार भन्दा बढी यस परिषद्मा संगठित रहेका छन् ।