मनु सुनार÷रेसुंगा टुडे गुल्मी, | बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित
छड्के मिडिया प्रा.लि गुल्मीले नयाँ वर्ष २०८० को भित्ते पात्रो विमोचन तथा पत्रकार सम्मान गरेको छ । बिहिबार नेपाल पत्रकार महासंघ गुल्मीको सभाहलमा नयाँ वर्ष २०८० को भित्ते पात्रो विमोचन तथा विगत लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका मिडिया उद्यमी तथा सञ्चारकर्मीलाई सम्मान गरेको हो । छड्के मिडिया प्रालिले प्रकाशन गरेको आगामी वर्ष २०८० को भित्ते पात्रो रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र पूर्व अध्यक्ष जनार्दन घिमिरेले विमोचन गर्नुभएको थियो ।
सोही अवसरमा विगत लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जनार्दन घिमिरेलाई सम्मानपत्र तथा दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पन्थीले सम्मान गर्नुभयो । त्यस अवसरमा मेयर पन्थीले समाज रूपान्तरका लागि सञ्चारकर्मीको निकै ठुलो भूमिका हुने बताउनुभएको छ । पत्रकारिता पेशा निकै संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रलाई ओझिलो र गरिमा बढ्ने गरी लाग्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।
उहाँले सत्य, तथ्य समाचारलाई ढाकछोप नगरी निडरताका साथ आम नागरिकसमक्ष ल्याउन आग्रह गर्दै भन्नुभयो,–“नियत नै खराब राखी गर्यो भने त्यस्ता कार्यहरुको ढाकछोप गर्नुहुँदैन । पत्रकारिता जगत ओझिलो र गरिमामय बनाउने गरी काम गर्नुस् ।” नगरप्रमुख पन्थीले असल नियमतले गरेको हो कि होइन ? भन्ने कुरालाई ध्यानमा राखेर समाचार लेख्न पनि आग्रह गर्नुभयो । उहाँले आउँदै गरेको नयाँ वर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै सभ्य, आधुनिक र न्यायपूर्ण समाज निर्माणमा नयाँ वर्ष आशाको वर्ष बन्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले सत्य र आम नागरिकले विश्वास गर्ने गरी समाचार सम्प्रेषणमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । छड्के मिडिया प्रालिले रचनात्मक कामहरू गर्दै आएको बताउँदै सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूलाई सम्मान गर्ने कार्यले उर्जा प्राप्त भएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले समाज रूपान्तरमा लागि सञ्चारकर्मीले काम गरिरहेको बताउँदै समाजमा भएका सकरात्मक पक्षहरुलाई पनि बाहिर ल्याउँदा थप सकरात्मक सन्देश प्रवाह हुने बताउनुभयो । साथै उहाँले आफू संस्थाबाट सम्मानित हुन पाउँदा थप उर्जा प्राप्त भएको उल्लेख गर्नुभयो । छड्के मिडिया प्रालिका अध्यक्ष मनोज कार्कीले स्थानीय सरकारले स्थानीय मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्लामा सक्रिय पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।