कर्णालीका चार मन्त्रीको सपथ आज हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिँदै छन् ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच बनेको नयाँ समीकरण अनुसार मङ्गलवार काँग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रदेशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय काँग्रेसले गरेको थियो ।

यसैबीच, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि आजै सपथ लिने जनाइएको छ । गत पुस २७ गते नेकपा एमाले र माओवादी बिच भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय एउटै मन्त्रालय बनाउने निर्णय भएको थियो । तर, मङ्गलवार बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रालय फुटाएर भौतिक पूर्वाधार एव शहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएपछि विकले ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित शपथ लिने भएकी हुन ।
नव नियुक्त मन्त्रीहरूको सपथ दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले गराउने कार्यतालिका रहेको जनाइएको छ ।