राष्ट्रिय हित विपरित देखिएकाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्वन्धी कार्यविधि खारेज

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली बिपरित भएकाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक खरिद नियमावली र राष्ट्रिय हित विपरित देखिएकाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरणसम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरिएको जानकारी दिएकी छिन् ।
निजी कम्पनीलाई नागरिकको डाटाको पहँुच दिने काम उचित नभएको यस बिषयमा छानविन समितिले थप निष्कर्ष निकाल्ने उनको भनाइ छ । त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणको मिति अहिलेसम्म तय नभएको जानकारी दिएका छन् । भारत भ्रमणका लागि छलफलको विषय प्राथमिकीकरण नभएसकेपनि भ्रमणमा दुई देशीय हित, सीमासम्बन्धी बिषयमा स्वभाविक रुपमा छलफल हुने उनले बताए ।
त्यस्तै प्रवक्ता शर्माले मिटरव्याजीहरुको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै यससम्बन्धी समस्या समाधानका लागि केहि नेपाल ऐन सशोधनको तयारी भइरहेको जानकारी दिएकी छिन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले राष्ट्रिय सतर्कता केनद्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने, लेखा परिक्षणमान बोर्डको सदस्यमा चार्टड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
त्यस्तै सार्वजनिक संस्था सुझाव अवधारणा पत्र स्वीकृत गरि शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्य सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले नेपाल भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्यसमूहको सहसचिवस्तर बैठक बैशाख १२ गते गर्ने निर्णय गरेको छ भने काठमाडौं तराई मधेश द्रूतमार्ग सडक आयोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।