लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागू औषध कोकिन १ के.जी. ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई पक्राउ गरेको जनाएको हो ।
काठमाडौं वडा नंवर १७ मा रहेको एक होटलमा रहेका भारतीय नागरिकको साथमा रहेको कालो रंगको कपडाको झोलाभित्र लागु औषध कोकिन फेला परेको र घटनाको थप अनुसन्धान गर्दा इथोपियाबाट काठमाडौंसम्म ल्याई भारतीय नागरिकलाई कोकिन दिने केन्याका नागरिकलाई एक हजार अमेरिकी डलरसहित अर्को होटलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । बरामद लागु औषध कोकिनको अन्दाजी अवैध बजार मुल्य दुई करोड तेत्तिस लाख रहेको उनले बताएका छन् ।
काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको व्युरोले जनाएको छ ।