दलित माथि राज्यबाटै विभेद भएको दलित अधिकारकर्मीहरूको गुनासो

गुल्मीका दलित अधिकारकर्मीहरूले कानुनी रूपमा जातीय विभेद अन्त्य भए पनि सामाजिक र व्यवहारिक रूपमा अन्त्य नभएको बताएका छन् ।

आइतबार १६ औं नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरका सदरमुकाम तम्घासमा आइतबार साँझ दिप प्रज्वलन पछि बोल्दै दलित साझा मन्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले जातीय विभेद तथा छुवाछूत सामाजिक र व्यवहारिक रूपमा अन्त्य नभएको जिकिर गर्नुभयो ।

पछिल्लो समय उमेर पुगेर माया प्रेम भई अन्तर जातीय विवाह गर्ने दलित युवाहरूलाई राज्यले झुटा मुद्दा लगाएर जेलमा सडाउने गरेको बताउँदै उहाँले राज्यले संरक्षण दिनुपर्नेमा उल्टो पीडितलाई अन्याय गरेको बताउनुभयो ।

अन्तरजातीय विवाह गरेकै कारण जेलमा पारिएकाहरूलाई राज्यले तुरुन्त रिहा गर्नुपर्ने बताउनुभयो ।

अन्तरजातीय विवाह गरेका कारण यातना दिने काम बन्द गर्नुपर्ने बताउँदै जातीय विभेद गर्ने तरिका परिवर्तन भएको बताउनुभयो ।

दलित नेता झविन्द्र विश्वकर्माले दिवसको सान्दर्भिकताका विषयमा जानकारी गराउँदै दलितका मुद्दा राज्यले अपनत्व लिन नसकिरहेको बताउनुभएको छ ।

छुवाछूत मुक्त दिवसको अवसरमा जिल्लामा कुनै पनि सरकारी निकायले यसलाई प्राथमिकता नदिनु दुखद विषय भएको बताउनुभएको छ ।

विश्वकर्माले जहाँ बढि विभेद छ त्यहाँ राज्यले साधन स्रोत प्रयोग गरेर अगाडि बढ्नु पर्नेमा
त्यसो हुन नसकिरहेको बताउनुभयो । दलित माथि राज्यबाटै विभेद भएको उल्लेख गर्नुभयो ।

समाजलाई जातीय भेदभाव छुवाछुतको अन्धकारबाट मुक्त गराऔं भन्ने नाराका नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा दलित साझा मञ्च गुल्मीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम गरिएको थियोे ।

दलित नेता रोम विश्वकर्माले दलितले सम्मानजनक रूपमा बाँच्न र जीवन यापन गर्न पाउने कुरामा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

नेपाललाई २०६३जेठ २१ गते आजकै दिन छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।