सचिव पक्राउ परेपछि कर्मचारी क्रुद्ध !

सरकारले कर्मचारीको मनोबल गिराउने काम गरेको ट्रेड युनियनको गुनासो

काठमाडौं । निजामति कर्मचारीहरुका विभिन्न संगठन (ट्रेड युनियन)हरुले सरकारले निजामति कर्मचारीका मनोबल गिराउने काम गरेको गुनासो गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सरकारले आफ्नो उद्देश्य पुरा गर्नलाई निजामति कर्मचारीहरुलाई तर्साउने काम गरेको यसले कर्मचारीहरुको मनोबल गिरेको गुनासो गरेका हुन् । सरकारले संघीय निजामति ऐन ल्याउन नसक्नुको परिणाम अहिले कर्मचारीहरुले भोग्नुपरेको उनीहरुको बुझाई छ । कर्मचारीहरु ऐन, नियम र कानुनको आधारमा चल्छन् भनेर डराएर सरकारले ऐन नल्याएको उनीहरुको आरोप छ ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपालचन्द्र पोखरेलले सरकारले भ्रष्टाचारी निजामति कर्मचारीमात्रै रहेको र अरु सबै चोखा हुन् भन्ने भाष्य निर्माण गरेको आरोप लगाउनुभयो । उहाले सरकारले निजामति सेवालाई तहसनहस गर्ने उद्देश्य लिएको भन्दै आफूहरु सरकारको निर्णय प्रक्रियामा अब आँखा चिम्लिएर सहभागी नहुने जिकिर गर्नुभयो । कर्मचारीहरु हुदै मन्त्रीस्तरमा पुगेको निर्णयमा कर्मचारीलाई पक्राउ गर्नु गलत भएको उहाले बताउनुभयो ।
नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले नेपालको निजामति कर्मचारी प्रशासन उत्कृष्ठ र अनुशासित रहेको बताउनुभयो । नेपालका निजामती कर्मचारीले सार्क राष्ट्रका देशको भन्दा सबैभन्दा थोरै तलब र चेनअफ कमाण्डमा काम गरेको उहाले बताउनुभयो ।
एकीकृत कर्मचारी संगठनका अध्यक्ष गगन विष्टले कुनैपनि कर्मचारीले बदनियतपूर्वक काम गरेको भएमा कारबाहीको भागिदार हुनुपर्ने बताउनुभयोे । सञ्चार सचिव राउतले कुनै प्रमाण नष्ट गराउने अवस्था नरहेकाले छानबिनको क्रममासमेत थुनामा राख्न आवश्यक नरहेको उहाको भनाई छ । यही मुद्दाले सचिव राउतलाईलाई अख्तियारले दोषी नरहेको भनी फैसला गरिसकेको अवस्थामा पक्राउ पर्नु आपत्तिजनक रहेको उहाले बताउनुभयो ।
पेशागत महासंघका महासचिव राजन रेग्मीले सरकारमा बस्नेहरुले संविधान लागू भएको ८ वर्ष वित्नै लाग्दा पनि सरकारले संघीय निजामति ऐन नल्याएर बेथिति निम्त्याएको आरोप लगाउनुभयो । राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रका अध्यक्ष हरि रावलले राज्यले दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोषहरुलाई सरकारले आफ्नो प्रतिष्ठाको क्षेतिपूर्तिसहित सम्मान गर्नुपर्ने बताउनुभयो ।