सरकारको वर्तमान मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिनाई
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारको वर्तमान मापदण्डका कारण उद्योग सञ्चालन गर्न कठिनाई भएको गुनासो गर्नुभएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको भन्दै तत्काल सुधार गर्नुपर्ने बताउनुभयो ।
मुलुकको कानून बमोजिम सञ्चालन गरेर कर समेत नियमित रुपमा तिर्दे आएको अवस्थामा अहिले क्रसर उद्योगहरुको नविकरण समेत नगरिएको र यसले थप समस्या सिर्जना गरेको उहाले बताउनुभयो । उहाले राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्ने माग गर्नुभयो ।
बैठकमा समितिका सदस्यहरुले खानी तथा खनिजजन्य उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्या हटाउन सम्बन्धीत निकायहरुसंग छलफल गर्नुपर्ने बताएका थिए । बैठकले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट प्राप्त निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको हो ।