चलचित्र बगान हेरेपछि पूर्वराष्ट्रपतिले भन्नुभयो – ‘राम्रो बनेको रहेछ, कथावस्तु मन परेकैले अन्तसम्म हेरेँ’
काठमाडौँ । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्त्व दर्साइएको नेपाली चलचित्र ‘बगान’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ ।
मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।”
विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायतको सहभागिता थियो ।
चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक बनेको बताए । उनले भने, “नारीले भोगिरहेको जीवनलाई पर्दामार्फत समाज र परिवारलाई बुझाउने प्रयास गरिएको छ । यो परिवारका सदस्यहरू एकसाथ आएर हेर्नुपर्ने चलचित्र बनेको छ ।”
अभिनेता केसीले पनि चलचित्रले उठाएको विषयसँगै निर्देशक खनालको तारिफ गरेका छन् । “आफैँमा परिपक्व कलाकारले विषय छनोटमा पनि परिपक्वता देखाउनुभयो । धेरै ठाउँमा मैले आँसु नै रोक्न सकिनँ । नवअभिनेत्री कार्कीले राम्रो सम्भावना देखाउनु भएको छ”, अभिनेता केसीले भने ।
अभिनेता आचार्यले निर्देशकीय पाटोमा अभिनेता खनालको राम्रो सुरुआत भएको बताएका छन् । उनले भने, “कलाकारिताका तीन दशक बिताइसकेर निर्देशकीय यात्रा प्रारम्भ गर्दा धेरै कुरा सोच्नु पर्छ । यद्यपि खनालजीले आफ्नो अनुभवलाई पर्दामा देखाउन सफल हुनुभएको छ । यसका केही दृश्यले हृदय नै छुन्छ ।”
आगन्तुकबाट तारिफ पाउँदा निर्देशक खनाल उत्साहित भएका छन । “हाम्रो उद्देश्य सामाजिक विषयलाई पर्दामार्फत समाजसम्म पु¥याउने थियो । सफल भएका छौँ । यो चलचित्र निर्माण गरेर सर्जकको दायित्व निर्वाह गरेका छौँ”, उनले भने ।
निर्देशक खनालले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि चलचित्रको स्वरूप दिएका हुन । चलचित्रमा नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ ।
स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।