प्रतिनिधि सभा एकअर्कालाई गाली गर्ने थलो बन्यो : वामदेव

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र एकअर्कालाई गाली गर्ने थलो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधिसभा
असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको आरोप लगाएका हुन ।
नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरे पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको उनले बताएका छन् ।
सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी उठेर बोल्ने गरेको वताउँदै उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरेका छन् ।
गौतमले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलकोभन्दा तल झरेर संस्कृतिहीन भएको बताएका छन् ।
परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ’, उनले भने, ‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ। कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएका छन्। संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौँ । पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो ।’
उनले अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुने गरेको बताएका छन् । ‘कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन। संसद् अवरोध गर्ने विषय नियमावलीमा छैन । सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो’, उनले भने, ‘पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ । उद्देश्य नै संसद् चल्न नदिने भएको छ। यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ ।’