आज कांग्रेस संसदीय दलको बैठक बस्ने, सांसद शर्मा पक्राउ प्रकरण पनि छलफल हुने

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आज संसदीय दलको बैठक राख्ने भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो साढे १२ बजे सुरु हुने बैठकमा शुक्रबार धारणा राख्न बाँकी सांसदहरूले आज आआफ्ना धारणा राख्ने छन् ।
आजको बैठकका एजेन्डामा पहिलेकै विषय अर्थात् नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेर रिहा भएका सांसद सुनिल शर्मालगायत नै छन् ।
नक्कली सर्टिफिकेट प्रकरणमा गत बिहीबार पक्राउ परेका सांसद शर्मा जिल्ला अदालत काठमाडौंको आदेशमा शुक्रबार साँझ रिहा भइसकेका छन्।
कांग्रेस संसदीय दलको बैठकका अन्य एजेन्डामा संसद्‌मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आव २०८०÷८१ को बजेटको प्रभावकारी कार्यान्वयन र संसद्मा कांग्रेसको प्रभावकारी भूमिका छन् । यस्तै बाढी, पहिरोपीडितलाई राहत, उद्धर तथा पुनःस्थापना, पशु चौपायामा फैलिएको लम्पी स्किन रोग रोकथाम र किसानलाई राहत, डेंगी, आँखा पाक्ने रोगको रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषयमा पनि कांग्रेस संसदीय दलमा छलफल भइरहेको जनाइएको छ।