जनमत पार्टीबाट यादव मन्त्री बन्दै, माओवादीबाट को हेला आउट ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आज सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको हो । जनमत पार्टीबाट अनितादेवी साह मन्त्री बन्ने भएकी छिन् ।
जनमत पार्टीले गत असार २६ गते नै मन्त्रीका लागि अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर त्यसको भोलिपल्ट (असार २७ गते) बिहानै प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो ।
आज भने प्रधानमन्त्रीले उनलाई मन्त्रीमा नियुक्ति गर्ने भएका हुन् ।
यसैबीच प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । त्यसैले अब अर्को मन्त्री थप्दा यही संख्याभित्र समेट्नुपर्ने भएकाले कुनै एक मन्त्रीलाई हटाएर उनको ठाउँमा साहलाई राख्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ।
सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको थियो । यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ।
बालुवाटार स्रोतका अनुसार संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ।