सुन तस्करीको जरो माओवादीमा पुगेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको जरो माओवादीमा पुगेको आरोप लगाएका छन् । सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुन तस्करीको कनेक्सन टुप्पो टुप्पो मात्रै हेरेर नहुने बताउँदै जरो पत्ता लगाउनु पर्ने बताएका छन् ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेकोप्रति एमाले अध्यक्ष ओलीले आपत्ति जनाएका छन् ।
ओलीले सरकारप्रति प्रश्न गर्दै भनेका छन् “स्पष्ट देखियो त २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ ? सोधपुछ पनि गर्नुपर्दैन ? यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ । गफ दिएको छ । भ्रमपूर्ण प्रचार गरेको छ ।”
गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको आरोप लगाउँदै ओलीले साउन ३ गते बरामद भएको सय केजी सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएका छन् ।
‘गृहमन्त्री संसद्को रोस्ट्रममा उभिन जाँदा राजीनामा दिनुपर्थ्यो’, उनले भने, ‘ई–सिगरेटमा सुन भेटिन्छ, ब्रेक सुमा सुन भेटिन्छ, भन्सारको सीसीटीभी फुटेज बिगारिएको छ। तार काट्ने, क्यामेराको मुन्टो अन्त फर्काउने अनि बाहिर स्टन्ट गर्ने, कस्तो सरकार हो यो ?’
उनले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको आरोप पनि लगाएका छन् । आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २÷४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताएका छन् ।
त्यस्तै अध्यक्ष ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी छाड्न ढिला गरिरहेको बताएका छन् ।
सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै ओलीले आक्रोश पनि पोखेका छन् । ‘प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ । उहाँले आफैं राजीनामा दिनुपर्ने हो’, उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन्र ? गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो ।’ तर उनले प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी गरेका छन् ।
‘बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन’, उनले भने, ‘गृह र अर्थमन्त्री त अहिले पनि झन्डा हल्लाएर हिँडेका छन् । नैतिकता भन्ने अलिकति पनि रहेनछ।’