सुन तस्करी प्रकरणमा महरामाथि छानविन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
आफूविरुद्ध षडयन्त्र भएको महराको दावी, चिनियाँको सामना छोड्न भन्सारमा फोन गरेको तर सुन भएको थाहा नभएको स्पष्टिकरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रतिवादी बनाउने तयारी भइरहेको बताउनु भएको छ ।
बालुवाटारमा जारी प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा जानकारी गराउनु भएको हो ।
‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।
आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताउनु भएको छ ।
उहाँले सुन तस्करी प्रकरणमा लगातार सदन अवरोध गरेर सरकारलाई काम गर्न अप्ठ्यारो बनाएको गुनासोसमेत गर्नु भएको छ ।
उता नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले वामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको बताउनुभएको छ । मंगलबार दाङको घोराहीमा सञ्चारकर्मीसंग कुरा गर्दै महराले आफूले सबै वामपन्थी शक्तिलाई एक बनाउनका लागि भूमिका खेल्दा प्रहार भएको बताउनुभएको हो । उहाँले सुन तस्करीका बिषयमा सरकारलाई अनुसन्धानमा सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष महराले आफूसँग पुरानो चिनजान भएका चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको दावी गर्नुभयो । महराले भन्सारमा रोकिएको सामान सुन भन्ने कुरा उनीहरुले पनि नभनेको र आफूलाई पनि थाहा नभएको प्रष्टीकरण दिनुभयो ।
पूर्व सभामुख समेत रहेका महराले आफू प्रहरीलाई अनुसन्धानमा सघाउन तयार रहेको बताएपनि हालसम्म प्रहरीले नबोलाएको समेत बताउनुभयो ।