नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न आग्रह मन्त्री गुरुङको आग्रह
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति आशंका नगर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त विधेयकमाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले गलत नियतका साथ उक्त विधेयक नल्याएको भन्दै आशंका नगर्न आग्रह गर्नुभएको हो । विधेयक ल्याउने क्रममा बिचौलिया हावी भएको सांसदहरुको प्रश्नप्रति उहाँले आफुले निष्ठाको राजनीतिक नछाडेको भन्दै उक्त भनाइप्रति आपत्ति जनाउनुभयो । उहाँले आजका दिनसम्म आफु कहिपनि नचुकेको र भोलीको दिन पनि नचूकेको जिकिर गर्नुभयो । निष्ठाको राजनीतिक गर्न नसकेको दिन आफुले राजनीति नै छाडिदिने उहाको भनाइ छ ।
बैठकमा मन्त्री गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव भने पारित हुन सकेन । गणपूरक संख्या नपुगेपछि मंगलबार उक्त विधेयक अघि बढ्न नसकेको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसदहरुले नियमापत्ति जनाएका थिए ।
सांसदहरुको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या एकिन गर्न निर्देशन दिनुभएको थियो । प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका सदस्यको एक चौथाई ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते सोमबार बोलाइएको छ ।