राप्रपाले चाहे पनि कोशी प्रदेशमा सरकारलाई विश्वासको मत दिने चरण समाप्त भइसक्यो : लिङ्देन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्वको बिषयलार्ई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
यूएई र साउदी अरबको भ्रमणबाट स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति नभएको समेत बताउनुभयो ।
उहाले कोशीमा सभामुख र मन्त्री प्राथमिकताको विषय नभएको र राप्रपाले चाहे सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था रहेको जिकिर गर्नुभयो । यसअघि नै गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उहाँको भनाइ छ ।
त्यस्तै उहाँले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताउनु भएको छ । अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको टिप्पणी पनि गर्नुभयो ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सबै धर्मलाई बराबरी सम्मानसहितको हिन्दूराष्ट्र देशको आवश्यकता रहेको उहाले बताउनुभयो ।