विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिनुभएको छ ।
बुधबार सिंहदरबारमा विषयगत समितिका नवनिर्वाचित सभापतिसंग छलफल गर्दै सभामुख घिमिरेले विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको हो ।
संघीय संसदका दायित्वहरु समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा उहाले सभापतिसंग छलफल गर्नुभएको हो ।

समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुंग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो । छलफलमा विधेयक र समितिको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आफुहरुले आवश्यक भूमिका खेल्ने समिति सभापतिहरुले बताएका थिए ।

भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए । जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन् ।

त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली काँग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन् ।

सभापतिसँगको सभामुखको छलफलमा नेकपा (एकीकृत समाजवादी) का शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भने उपस्थित भएका छैनन् ।