एमसीसीले नेपाल युक्रेन बन्न सक्छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गर्दा देश युक्रेन बन्न सक्ने चेतावनी दिनु भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिहीबार उहाँले भन्नु भयो
‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ। तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ। हेरिराख्नुस्, यो षडयन्त्र हो ।’
सहयोग र अनुदान नेपालले पाउने कुरा स्वभाविक भएपनि हस्तक्षेप स्वीकार नहुने पनि उहाँले बताउनु भएको छ । साथै, उहाँले देशमाथि विभिन्न षडयन्त्र भइरहेको पनि बताउनु भएको छ ।
‘आजसम्म कसैको पनि कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ। कुनै न कुनै रुपले क्रान्तिकारी शक्तिहरुको अभाव हुनेबित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरुले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ। त्यसको विरुद्धमा पनि हामी लाग्छौं,’ विप्लवले भन्नु भयो ।
विप्लवले भन्नु भएको छ – ‘सामन्तवादको चकचकी नेपालमा सहिनसक्नु थियो । हामीले त्यसलाई धुलो चटाएका छौं। उनीहरुको चकचकी, रजाईं, हैकम, अहकांर सहिनसक्नु थियो । जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह हुँदै सबै क्रान्तिद्वारा हामीले पछारेका छौं ।’