न्यायाधीश खतिवडाले अस्वीकार गरेपछि कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै आज मुद्दा हेर्न अस्वीकार गरेपछि सुनुवाई स्थगित भएको हो ।
यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत लिदा सभाध्यक्षको समेत मत दिएर उनैले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभाध्यक्षले मत दिनु गैरसंवैधानिक भएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफू मतदान गर्न गएका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन आवश्यक थियो । थापाले सभाध्यक्षको समेत मत लिएर वहुमत पुर्याएका थिए ।