८ वर्षपछि मानिस आवातजावतका लागि तातोपानी नाका खुल्ला

सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणका लागि खुला भएको छ । आठ वर्षदेखि बन्द सो नाका तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो ।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेर आजबाट तातोपानी नाका खुला भएको सन्देश दिइएको हो ।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।
सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन् ।
गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो । भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।
नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन् ।