एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल खेमाका राधाकृष्ण कँडेल विजयी
काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । कँडेलले प्रतिस्पर्धी हरि रिजाललाई २ मतान्तर मात्रैले पराजित गरेका हुन ।
कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
बुटवलमा चार दिन भएको एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नजुटेपछि मंगलबार मतदान भएको थियो ।
कँडेल र रिजाल समूह प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन भने रिजाल एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन् ।
एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा आफू निकटलाई विजयी बनाउन पौडेल र पोखरेल कम्मर कसेर लागेका थिए ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत मात्रै प्राप्त गरेका छन् ।
सचिवमा लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन् ।
कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४ सय १८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरेका छन् ।
महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन् ।
मगर ३ सय ५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत मात्रै प्राप्त गरेकी छन् ।