भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले बुधबार भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका छन् ।
श्रद्धालुहरूले आफ्ना नजिकका कृष्ण मन्दिरहरूमा गई पूजा आराधना, व्रत र भजनकीर्तन गरेका छन् । सो अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । पर्वका अवसरमा भक्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको स्वरुपमा सिंगार्ने गरेका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवतगीता पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । कृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक बिदा समेत दिएको छ ।