श्रम आप्रवासन सम्बन्धी समस्या र समाधानका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरुसँग प्रमको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र समाधानका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
सिंहदरबारमा आयोजित छलफलमा कुटनीतिज्ञहरुले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तरक्रियात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । अन्तरक्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयमा अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रूमानिया रहेको उल्लेख छ । साथै नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका बिकल्पहरू प्रस्तुत गरिएको छ ।
मंगलबार पनि चल्ने छलफलमा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या समाधानको प्रयास हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।