नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन च्यासल पुगे नेताहरु
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेताहरु महन्थ ठाकुर, चित्रबहादुर केसी, राजेन्द्र महतो, डा. शशांक कोइराला, रञ्जिता श्रेष्ठ चौधरी, देव गुरुङ, नेत्रविक्रम चन्द विप्लव, पशुपति शमशेर जवरा, पम्फा भुसाल, चिरिबाबु महर्जनलगायतका नेता, कार्यकर्ता र हजारौ शुभचिन्तकहरु च्यासल पुगेका छन् ।
नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।
उनका दुवै छोरा अस्ट्रेलिया र बेलायतबाट आएपछि मुन्धुमी विधिअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको हो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।
विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका थिए । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।
विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भएका थिए ।
नेम्वाङ राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत थिए ।