ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष, पूरक अनुसन्धान गर्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेकाले सीआईवीले पुरक अनुसन्धान गरिने जनाएको छ ।
६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउनु अघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले दिएको जानकारी अनुसार ५० जनालाई प्रतिवादी बनाएको छ ।
२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरु पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।


सीआईबी प्रमुख बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।
ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।
अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसधान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’
तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको समेत उनले बताएकी छिन् ।