रेसुङ्‍गा विमानस्थलबाट नियमित उडान सुरु

गुल्मी । रेसुङ्‍गा विमानस्थलबाट नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण गत जेठको अन्तिम सातादेखि अवरुद्ध उडान तीन महिनापछि आजबाट शुरु भएको हो ।
आज नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्‍गा स्टेशन इन्चार्ज सुमन थापाले जानकारी दिएका छन् ।
आज काठमाडौंबाट ११ जना यात्रु रेसुङ्गा गएका थिए भने उताबाट काठमाडौंका लागि तीन जना मात्र यात्रु थिए । खराब मौसमका कारण पटक पटक विमान उडान नभएपछि यात्रुको संख्या कम भएको बताइएको छ ।
अब मौसम हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने थापाले बताएका छन् । नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्न अनुमति दिएको छ ।
रेसुङ्‍गा विमानस्थलका लागि काठमाडौंबाट ६ बजेर ३० मिनेटमा उडान गर्ने गर्दछ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेट जाँदा उडान गर्ने समय तालिका रहेको छ ।
रेसुङ्‍गादेखि काठमाडौंका लागि ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्‍गाका लागि ७ हजार २८० रुपैयाँ भाडादर कायम गरिएको थापाले बताएका छन् ।
रेसुङ्‍गा विमानस्थलबाट गत वैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान सुरु भएको थियो । विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । रेसुङ्‍गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानका लागि उपयुक्त हुने प्राधिकरणको निष्कर्ष रहेको छ ।