गणेशमान नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको थियो । नेता सिंहको २६औँ स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका थिए । यसै क्रममा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेको थियो ।
माल्यार्पण कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताउनुभयो । हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको भन्दै उहाले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो ।
संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्र लगायत दलहरुको गठबन्धन बनाउनुपरेको उहाको भनाइ छ । गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको उहाले बताउनुभयो ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।