शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
देशभरबाट हजारौंको संस्थामा उपस्थीत भएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा दोश्रो दिन पनि प्रदर्शन गरिएको हो ।
महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।
शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् ।