शिक्षा विधेयकमा सुधार आवश्यक छ, सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा विधेयकमा कमजोरी रहेको बताउँदै सच्याउन आवश्यक रहेको बताएका छन् । देशभरका शिक्षकहरुले संघीय राजधानी काठमाडौं आएर दुई दिनदेखि आन्दोलनमा गरिरहेको र सहभागीहरुको संख्या दिनप्रतिदिन थपिदै गएपछि सत्तारुढ दलका महामन्त्री थापा समेत रहेका सांसद थााले सामाजिक सञ्जालमार्फत शिक्षा विधेयकमा अनेक कमजोरी सुधारेर मात्रै पास गर्नुपर्ने बताउँदै शिक्षकहरुलाई आन्दोलनका स्वरुप परिवर्तन गर्न आग्रह पनि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –“विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ ।
अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।”