रेसुङ्गा विमानस्थलबाट साताको २ दिन उडान

गुल्मी । रेसुङ्गा विमानस्थलबाट साताको दुई दिन उडान सुरु भएको छ । नेपाल एयरलाइन्सले यसअघि सातामा एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो । अब मंगलबार र शुक्रबार उडान गर्ने रेसुङगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनु भएको छ ।
मंगलबारको उडानमा काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि १२ जना यात्रु सवार थिए भने रेसुङ्ग विमानस्थलबाट १ जना मात्र यात्रु लिएर उडान गरेको थापाले बताउनु भएको छ ।
मंगलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गा विमानस्थलबाट फर्किदा एक जना मात्र यात्रु लिएर उडान गरेको उहाँको भनाइ छ ।
मौसममा सुधार आएसँगै नियमित रुपमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार उडान गर्ने तालिका रहेको छ ।
नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक हप्ताको शुक्रबार बिहान साढे ६ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः३० मा उडान गर्ने गरी समय निर्धारण गरिएको छ ।
काठमाडौंबाट रेसुङ्गाका लागि ७ हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि ७ हजार ८० रुपियाँ भाडा निर्धारण गरिएको छ ।