नाका खुलेको साता दिन नपुग्दै चार केजी तस्करीको सुन बरामद

दोलखा । दोलखाको विगु गाउँपालिकास्थित जामुनेबाट चार केजी सुनसहित तीन जना पक्राउ परेका छन् । दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताएका छन् ।
उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् । पक्राउ परेको तीन जनामध्य दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् ।
पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रका रहेको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवार मात्र तिब्बतसंग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।
सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुगेका थिए । एक/एक केजीको चार पिस सुनसहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् ।
पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरीले जनाएको छ । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुकोसमेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।