युवकमाथि चक्कु प्रहार भएको स्थानमा पेस्तोल समेत फेला

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार भएको स्थानमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार गौशालाको पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार भएको हो । उनीमाथि चक्कु प्रहार गर्ने बाराका नवल सहनी फरार रहेको प्रहरीको भनाइ छ । हुसेनको खुट्टामा गहिरो देखिएको छ ।
घटनालगत्तै प्रहरी घटनास्थलमा पुगी घाइते हुसेनलाई उद्धार गरेर अस्पताल पठाएको थियो। घाइतेको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेका मैनालीले बताए।

प्रहरी घटना भएको उक्त घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र घटनामा प्रयोग गरेको चक्कु पनि बरामद गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।