संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको छ ।
सोमबार निर्माणधिन संघीय संसद भवनको अवलोकनपछि समितिले शहरी बिकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरण सहित छलफल गर्ने निर्णय गरेको हो । पटक पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ । अनुगमनका क्रममा समिति सदस्यहरुले कामदारहरुसंग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो ।
सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । दूई पटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिनुभयो ।
त्यस्तै चाडपर्व नजिकदै जाँदा मुलुकभरको राजमार्गका साथै यातायातको अग्रिम बुकिङका साथै बसको व्यवस्थाका बारेमा यातायात मन्त्रालयसंग छलफल गर्ने निर्णय गरिएको सभापति सिंहले बताउनुभयो ।