एसियन गेम्स : नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित

काठमाडौं । चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ ।
सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले तीन, सन्दीप जोराले २९, सोमपाल कामीले सात, गुल्शन झाले छ, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले पाँच रन बनाए । भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान तीन÷तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाए ।
नेपाली बलर दीपेन्द्रसिंह ऐरीले दुई, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।