आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताउनुभएको हो ।
आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उहाँको भनाइ छ । उहाँले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्चाउनुपर्ने र राष्ट्रपतिलाई बद्नाम हुनुबाट रोक्नुपर्ने बताउनुभयो ।
उहाँले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभयो ।