सुशासन, समृद्धि र सामाजिक न्यायको लडाइँमा सिंगो देश एक ठाउँमा उभिनु पर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघर्षको बलमा पूरानो व्यवस्था परिवर्तन गरेपनि तर पूराना नीति, संरचना, संस्कार, संस्कृति र कार्यशैली पूरै बदलिन नसकेको भन्दै देशमा सुशासन, समृद्धि र सामाजिक न्यायको नयाँ वातावरण सिर्जना गर्ने लडाइँमा सिंगो देश एक ठाउँमा उभिन जरूरी रहेको बताउनुभएको हो ।
उहाले पूरानो व्यवस्थाले थुपारेको फोहोर सफा गर्ने काम सजिलो नभएपनि सुशासनका निम्ति, समृद्धिका निम्ति, सामाजिक न्यायका निम्ति दृढतापूर्वक अगाडि बढ्नुको अर्को कुनै बिकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको भन्दै स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो ।